अधिकांशका लागि यो फगत एक मिति हो । तर, गायक सन्तोष लामाका लागि यो जीवनमा ठूलो ‘टर्न’ आएको दिन हो ।
यही मितिमा सन्तोषले नेपालको सबैभन्दा चर्चित गायन कम्पिटिसन नेपाली ताराको उपाधि चुमे । त्यसको भोलिपल्टबाट उनीमाथि अनेक फिचर गरिए, उनले अवसर पनि पाए ।
तर, त्यही समय उनलाई जीवनको सबैभन्दा ‘फ्रस्टेटेड’ समय लाग्छ । यस्तो किनभने उनी सेलेब्रिटी भएका थिए । तर, उनीसँग सेलेब्रिटी लाइफस्टायल धान्ने स्रोत थिएन ।
‘म विद्यार्थी थिएँ, आम्दानी थिएन,’ उनी भन्छन्, ‘नेपाली तारा भएपछि मैले जहाँ पायो त्यहीँ खानुहुँदैन, जहाँ पायो त्यहीँ सपिङ गर्न जानुहुँदैन भन्ने लागेको थियो ।’ अकस्मात् सफलताको शिखरमा पुग्दा जो–कोहीले यही सोच्छ जुन सन्तोषले सोचे । तर, सफलतामा पुगेका सन्तोषलाई अवसरले ‘नक नक’ गरेको थिएन । बरु बाटोमा हिँड्दा मानिसहरू उनलाई ‘नक’ गर्थे र सोध्थे– खोइ त तपाईंको कुनै गीत नै आएन नि ?
उनले पनि आफूलाई सोधिरहे, ‘किन एल्बम आउन सकेको छैन ?’
खासमा उनी स्वर दिन तयार थिए, सबै सेटिङ पनि मिलिसकेको थियो । नेपाली तारा भएपछि आयोजकसँग एक वर्षका लागि अनुबन्धित थिए । उनीहरूको पर्मिसनविना गीत आउन नसक्ने थियो । तर, यसबीच उनले धेरै ‘लफडा’ भोगे, गीत रकेर्ड नै भएन ।
एकातिर एल्बमको चाँजोपाँजो नमिलेकाले उनी समस्यामा थिए भने अर्कातिर उनको जीवनको नयाँ अध्याय सुरु भइसकेको थियो । उनी ‘अफेयर’मा थिए । यी सबैको तालमेल मिलाउन उनलाई निकै कठिन भइसकेको थियो ।
त्यतिवेला सन्तोष साँझमा एक्लै कोठामा धुम्धुम्ती बस्थे र फर्किन्थे विगतमा । त्यही एउटा अफेयरले चाहिँ उनलाई साथ र विश्वास दिइरहेको थियो ।
सन्तोष धादिङमा जन्मिएका हुन् । कतिले त धादिङलाई ‘ड्राइभर जिल्ला’ पनि भन्थे । उनी पनि ड्राइभर हुने सम्भावना त्यति नै प्रबल थियो । किन पनि भने उनका बाबु पनि सेलिब्रेटेड ड्राइभर थिए ।
परिवारको कान्छो छोरो भएकाले सन्तोषले बाबुको बिँडो थाम्ने सम्भावना झन् बढी थियो । त्यसमाथि उनका गाउँभरका साथीहरू ड्राइभिङमा थिए ।
‘म जन्मिदाँ बुवा पेसाबाट रिटायर्ड भइसक्नुभएको थियो,’ उनी अहिले सम्झन्छन्, ‘बुवाले भन्नुहुन्थ्यो– मान्छेहरूले मलाई भगवान्जस्तो मान्थे ।’ तर, समय एकनास रहेन । हाइवेनजिकै घर भए पनि सन्तोष ड्राइभिङतिर लागेनन् ।
‘यो अपवाद थियो, मेरो परिवार यसमा लागेन,’ उनी सम्झिन्छन्, ‘दाइहरू पनि त्यता नलाग्नुभएकाले ममा पनि ड्राइभिङको ठूलो मोह भएन ।’ बुवासँग ‘उत्पातै’ डराउने भएकाले सन्तोष र उनका दाइहरूलाई स्कुल जानै पर्ने बाध्यता पनि भयो ।
‘दाइहरू मेरो ड्राइभरजस्तै हुनुहुन्थ्यो, अगुवा,’ उनी भन्छन्, ‘उहाँहरूले त्यो पेसा रोज्नुभएन, मैले पनि त्यता लाग्ने बाटो नै पाइनँ ।’ कतिसम्म भने सन्तोषले त्यतिवेला पाइपको पांग्रा बनाएर पनि ‘ड्राइभिङ’ गरेनन् ।
यस्तो त किन पनि हुन सक्छ भने उनको ‘डेस्टिनी’ नै गायक बन्नु थियो ।
तर, एकजना मानिसको करिअर र फ्युचर ‘डेस्टिनी’ले मात्र पनि तय गर्दैन, त्यसलाई साथ दिएका हुन्छन्, वातावरण र आफन्तहरूको साथले ।
‘सानोमै दाइहरू चाहनुहुन्थ्यो– म गायक बनूँ,’ अहिले सन्तोषलाई दाइहरूको यो चाहनामा गर्व लाग्छ, ‘मैले पनि सायद त्यसमाथि त्यतिवेला देखि नै आफूलाई प्रिपियर गरेँ ।’
दाइहरू र स्कुलका सिनियरहरूको प्रोत्साहनका कारण हुनुपर्छ, शिक्षकले कक्षामा ‘तँ ठूलो भएपछि के बन्छस् ?’ भन्दा सन्तोष उत्तर दिन्थेँ– ‘गायक बन्छु’ ।
‘सिंगिङ मेरा लागि प्यासन भइसकेको थियो,’ उनी भन्छन्, ‘कहिलेकाही“ गुनगुनाउँदा सिनियरहरूले माया गर्नुहुन्थ्यो, उहाँहरू तँ गायक बन् भन्नुहुन्थ्यो । त्यसैले मैले यही कुरा सोचेँ ।’
तर, आफ्नो स्वरमाथि त्यतिवेला सन्तोषलाई त्यस्तो विश्वास थिएन । उनको कन्फिडेन्स त स्कुलका साथीहरू र दाइहरूले गाउन लगाएपछि मात्र बढ्थ्यो । तर, माइकमा उनले गाएका थिएनन्, माइकमा वा रेकर्डिङमा कस्तो स्वर आउँछ भन्ने उनलाई थाहा थिएन ।
उनी त ‘स्किपिङ’को ह्यान्डललाई समात्थे र गीत गाउँथे वरपरका साथीभाइलाई सुनाउन । र, वरपरबाट दाइहरू तथा साथीहरू उनको गायनमा थप्थे– वान्स मोर, वान्स मोर ।
स्टेजमै सन्तोषले वान्स मोर पाउन थालेको चाहिँ धेरै पछि हो । किनकि स्कुले जीवन सक्दासम्म उनी कहिल्यै स्टेजमा उक्लिएका थिएनन् ।
अहिले उनले धेरै गायक–गायिकालाई सुनिसकेका छन् । र, रियलाइज गरेका छन्– त्यतिवेला त म वास्तवमै कमजोर रहेछु । तर, यो रियालाइजेसन उनलाई त्यतिवेला पनि भएको थियो, जब उनी पहिलोपटक ‘तिम्रो सुर मेरो संगीत’मा प्रतिस्पर्धी बनेर काठमाडौं आए ।
हाइवेनजिकै घर भएकाले काठमाडौं आउन सन्तोषलाई समस्या भएन । तर, दाइसँग काठमाडौं आइपुगेका सन्तोषले गीत गाउनु भनेको के हो भन्नेचाहिँ बल्ल बुझे । ‘म त्यो चाइल्ड कम्पिटिसनमा भाग लिन दाइसँग आएको थिएँ,’ उनी अहिले सम्झन्छन्, ‘दाइले यसले सक्छ है भनेर ल्याउनुभएको थियो ।’
आएलगत्तै उनले अडिसन दिन पाएनन् । प्रतिस्पर्धामा भाग लिन आएका सन्तोषलाई केसम्म पनि थाहा थिएन भने गीत क्यासेटमा रेकर्ड गरेर ल्याउनुपर्छ । तर, उनीहरूले हरेस खाएनन् । पुतलीसडकको एउटा स्टुडियोमा पुगेर उनीहरूले क्यासेटमा रेकर्ड गरे अनि कम्पिटिसनमा भाग लिए ।
‘त्यो मेरो पहिलो भ्वाइस टेस्ट थियो,’ उनी भन्छन्, ‘त्यतिवेला म आठ कक्षामा पढ्थेँ । अनि त्यसपछि त काठमाडौं आएर म वेलावेलामा प्रतिस्पर्धामा भाग
लिन थालेँ ।’
प्रतिस्पर्धामा उनले खासै राम्रो गर्न सकेनन् । एउटा–दुईटा राउन्ड पास भए पनि उनी फाइनलसम्म पुगेनन् । उता, स्कुलमा चाहिँ उनको पढाइ ‘राम्रै’ थियो । तर, यता कम्पिटिसनमा उनले पास माक्र्स पनि ल्याउन सकेनन् ।
‘गीत त स्केलमा रहेर गाउनुपर्ने रहेछ,’ अहिले पनि स्टुडियोमा छिर्दा सन्तोष निणार्यकहरूले त्यतिवेला भनेको सम्झन्छन्, ‘त्यो त मेरो लर्निङ प्रोसेस रहेछ । अहिले मलाई त्यसमा भाग लिएर ठीक गरेँ भन्ने लाग्छ ।’
सफल नभए पनि उनले गीत गाउन छाडेनन्, काठमाडौंका प्रतिस्पर्धामा भाग लिन छाडेनन् । केएटिएच एफएमको एउटा प्रतिस्पर्धामा त उनी फस्र्ट पनि भए । त्यो उपाधि जितेपछि उनले पहिलो गीत रेकर्ड गर्न पाए– एउटा फूल साह्रै राम्रो… ।
यसले सन्तोषको आत्मविश्वास ह्वात्तै बढायो । उनले कक्षामा डेस्कलाई झन् जोडजोडले बजाउन थाले । ‘मलाई लाग्यो, मैले तबलाको कक्षा लिएँ भने त खतरा तबलावादक हुन्छु,’ उनी भन्छन्, ‘तर, म गलत रहेछु । काठमाडौंमा कक्षा लिन जाँदा मैले बजाउने तरिकाले कुनै आवाज नै नआउने रहेछ ।’ एक वर्ष तबला सिकेपछि उनले राम्रो गर्न थाले । तर, तबलामै आफूलाई सीमित गराउन भने चाहेनन् । उनले ‘भोकल’ क्लास लिन थालेँ ।
संयोग, सन्तोषलाई यी सबै कुरामा उनको घरको साथ थियो । साथ नभएको भए के गर्थे होलान् उनी ?
‘मैले आफैँ पनि काम गर्न थालेको थिएँ,’ उनी भन्छन्, ‘घरनजिकैको एउटा ढाटमा पैसा उठाउन थालेको थिएँ । म दिउँसो काम गर्थें, बिहान ७ बजेभित्रचाहिँ काठमाडौं आइपुगेर भोकल सिक्न पुग्थेँ, बरु मैले कलेजमा खासै समय दिइनँ ।’ तर, उनी यसलाई दुःख मान्न तयार छैनन् । ‘यो त जीवनको एउटा रीत हो,’ उनी भन्छन् ।
त्यही भोकलको कक्षा उनका लागि वरदान सावित भयो । ‘गुरु’ले मात्र होइन, उनका साथीसंगीले पनि सल्लाह दिए– तिमीले फर्म भर्नु, चान्स छ ।
त्यो चान्सलाई मिस गर्न चाहेनन् सन्तोषले । उनी आयोजककहाँ गए र फर्म भरे– नेपाली ताराको पहिलो सिजनको ।
जतिवेला सन्तोषले नेपाली ताराको फर्म भरे, त्यतिवेला उनमा कन्फिडेन्स धेरै ‘बुस्ट अप’ भइसकेको थियो । त्यसमाथि नेपाली ताराको भव्य प्रमोसन थियो । उता, भारतमा ‘इन्डियन आइडल’को चार्म धेरै बढिसकेको थियो । कतिले त उनलाई इन्डियन आइडलमा जान सुझाब पनि दिएका थिए । तर, उनले त्यता मन गरेनन् । नेपाली ताराको फर्म भने उनले भर्ने नै भए ।
पहिलो हुनेलाई नेपाली ताराका आयोजकले एल्बम निकालिदिने मात्र होइन, एउटा मोटरसाइकल र एक लाख क्यास दिने बताइसकेका थिए । उनले त्यो उपाधि आफूले उचाल्ने सपना देखे । नदेखून् पनि किन, अडिसनमा उनी एकैपटकमा छानिए । र, ‘टप ट्वान्टी’सम्म पुगे पनि ।
त्यतिवेला सन्तोषलगायत ‘टप–२०’मा पुगेका साथीहरूलाई आयोजकले होटेल -याडिसनमा राखेको थियो । त्यहाँ पनि साथीहरू भन्थे– तिम्रो गजब छ यार, तिमीलाई नै हो यो नेपाली तारा ।
यसैमा मख्ख थिए, सन्तोष । तर, उनी टप–२० बाट फालिए ।
‘जीवन फेरि निराशाले घेरियो,’ उनले भने, ‘मैले गायनमै करिअर बनाउँछु भनेर पढाइमा पनि त्यति ध्यान दिएको थिइनँ, तर म फालिएँ । यसले मलाई के गर्ने होला भन्ने अन्योल सिर्जना गराइदियो ।’ त्यसमाथि उनी जुन दिन फालिएका थिए, त्यो दिन उनको स्वर बसेको थियो।
‘कतै स्वरले धोका दिने त होइन,’ सन्तोष भन्छन्, ‘यो प्रश्न मेरो मनमा उब्जिन थालिसकेको थियो, मलाई अत्यन्त पीडा भयो ।’
आशा गरेको प्रतियोगितामा निकै परबाटै फालिएका थिए, सन्तोष । तर, आफूलाई सम्हाल्न उनले कुनै कन्जुस्याइँ गरेनन् । आखिर उनले नै त्यो प्रतियोगितामा गाएका थिए, ‘म सपनाको कुरा गर्छु…’ । जीवनमा सबैभन्दा बढी दुःख फिल गरेका यी गायकले आफूले गाएको गीतजस्तै सपनाका कुराचाहिँ गर्न छाडेनन् ।
त्यतिवेला सन्तोषको पहिचान परिवारबाट फैलिएर गाउँसम्म पुगिसकेको थियो । ‘समाचारहरू आउन थालेका थिए,’ उनी भन्छन्, ‘मैले र परिवारले मात्र होइन, सिंगो गाउँले नै मबाट आशा गरिसकेको थियो । तर, त्यो आशालाई सफलतामा परिणत गर्न सकिनँ ।’
तर, सन्तोषले यो क्षेत्रलाई त्यागिहाल्नेचाहिँ सोचेनन् । उनी भोकल सिक्न निरन्तर गइरहे । फरक के मात्र हुन्थ्यो भने उनलाई कहिलेकाही“ यो क्षेत्र चटक्कै छाडिदिऊँ भन्ने लाग्थ्यो । तर, छोडेर के गर्नु ? अब फेरि ‘ड्राइभर’ बन्ने कुरा कल्पनाबाहिरको थियो ।
‘जीवनमा कुनै पनि अवस्थामा म त्यो क्षेत्रमा जान्न थिएँ होला,’ उनी भन्छन्, ‘मलाई लागिरहेको थियो, म गायनमै केही गर्छु, मात्र समयले साथ नदिएको हो ।’
पहिलो नेपाली ताराबाट फालिए पनि केही मानिसले सन्तोषलाई चिन्न थालिसकेका थिए । विशेषगरी धादिङमा उनको प्रख्याति बढ्दो थियो । काठमाडौंमै सँगै भोकल सिकिरहेका साथीहरूले पनि उनको आवाज नोट गरिरहेका थिए । त्यसैले, समयसमयमा उनीहरू उनको हौसला बढाउँथे– तिमीले केही गर्नै पर्छ, अगाडि बढ्नै पर्छ ।
केही वर्षपछि फेरि नेपाली ताराको दोस्रो सिजन हुने भयो । यसपटक सन्तोष त्यसमा भाग लिने सोचमा थिएनन् । भोकल सिक्दै आफ्ना दिनहरू बिताइरहेका थिए । अनि ढाटमा पैसा उठाउने काम पनि निरन्तर थियो । ‘मलाई एकपटक असफल भएको प्रतिस्पर्धामा फेरि जाऊँ भन्ने लागेकै थिएन,’ उनी भन्छन्, ‘तर, साथीहरूले धकेल्दै फर्म भर्ने ठाउँसम्म पु¥याउनुभयो ।’
त्यतिवेला उनको भ्वाइस म्याचुअर्ड पनि भइसकेको थियो । नेपाली ताराले विज्ञापन गर्दा दीपक लिम्बूको फोटो राखेर प्रचार गरेको थियो– हु विल बि द बेस्ट ?
जानै खोजेका थिएनन् सन्तोष । भोकल सिकाइरहेका गुरुले उनलाई ‘जानुपर्छ, जानुपर्छ’ भनिरहेका थिए । नेपाली ताराको पहिलो सिजनमा फस्र्ट रनरअप भएका गायक धर्मेन्द्र सेवानले पनि नेपाली ताराको त्यो विज्ञापन देखाउँदै भने, ‘अब त्यहाँ तिम्रो फोटो हुनेछ ।’
खासमा धर्मेन्द्रको यो बोलीचाहिँ भविष्यवाणीजस्तो भयो । उनले जे भनेका थिए, त्यही भयो । २०६४ साल पुष ४ गते घोषणा भयो– सन्तोष लामा नेपाली तारा भए । त्यसपछि गायनमा अरू अवसर त खुले नै, सन्तोष र धर्मेन्द्रको मित्रता झन् जम्न थाल्यो ।
‘म अलिक अबेर भएको थिएँ,’ उनी भन्छन्, ‘मेरो भ्वाइसमा पनि परिपक्वता आइसकेको थियो । मैले त्यसमा सपना देखिरहेको थिएँ, सपना देखाइरहेको थिएँ ।’
किनकि उनले उपाधि पाएपछि सोचे, ‘स्ट्रगल ह्याज कम टु एन इन्ड ।’
तर, यो भ्रम रहेछ । अहिले पनि सन्तोषले त्यो भ्रम बिर्सिएका छैनन् ।
एकातिर सन्तोष त्यतिवेला नेपाली तारा भए, अर्कोतिर उनले ‘जीवनकी तारा’ गीता पनि भेटाए ।
‘खासमा हाम्रो नेपाली तारामै भेट भएको हो,’ उनी भन्छन्, ‘मेरो त्यस्तो खतरा लभ स्टोरी छैन, हामीबीच भेट भयो, दुईजनाको परिवारले पनि मान्यो । विवाह भयो । नेपाली तारामा प्रतिस्पर्धामा जाँदा मैले जे गरेको थिएँ, उपाधि जितिसकेपछि पनि उनीसँग मेरो त्यही व्यवहार रह्यो, यही कुरा उनलाई मन परेछ ।’
तर, संयोग मान्नुपर्छ, यो जोडीमा चाहिँ एउटा समानता थियो । पहिलोपटक नेपाली तारामा सन्तोष टप–२० बाट फालिएका थिए । दोस्रो सिजनमा पहिलोपटक प्रतिस्पर्धामा भाग लिन आएकी गीता पनि टप–२० बाटै फालिइन् ।
यता, नेपाली तारा भएपछि सन्तोषले ‘फेम’ पाए । यो उनले दोस्रो एटेम्प्टमा पाएको सफलता थियो । यदि उनी नेपाली तारा हुँदैनथे भने अहिले उनी ‘स्ट्रगल’कै ‘फेज’मा पनि हुन सक्थे । तर, केचाहिँ निश्चित हो भने उनी यही क्षेत्रमा चाहिँ हुन्थे ।
‘त्यो किन पनि भने म प्यासनेट थिएँ र आफूलाई गायक नै बनाउँछु भन्ने थियो,’ उनी भन्छन् ।
नेपाली तारा भएपछि सन्तोषले एल्बमको तयारी गर्न थाले । तर, उनले सोचेजस्तो सहज भएन, उनको जीवन ‘ओभरनाइट चेन्ज’ भएन । उनले सोचेजस्तो रेकर्डिङ पनि पाएनन्, कन्सर्टका लागि अफर पनि पाएनन् । न त सोचेजस्तो विदेश टुरमै जान पाए ।
२०६४ सालभर भने उनले रमाइलो ‘लाइफ’ बिताए । ‘त्यसपछि सबै टुक्रियो,’ उनी भन्छन्, ‘मानिसहरू प्रशान्त तामाङलाई नेपालसम्म ल्याउन जे गर्न पनि तयार थिए, तर मलाई उनीहरूले बोलाएनन् । यो किन पनि रहेछ भने मैले आयोजकसँग एउटा कन्ट्रयाक्ट गरेको थिएँ।’
तीन वर्षपछि बल्ल उनको पहिलो एल्बम आयो– बटुवा ।
सांगीतिक बटुवा सन्तोषलाई त्यही बटुवाले ह्वात्तै अगाडि बढाइदियो ।
अहिले सन्तोष अगाडि बढिसकेका छन्, दर्जनौँ गीतमा स्वर दिइसकेका छन् । पछिल्लो समय त उनी झन् बटुवाबाट माथि उठेर रेलको कल्पना गरिरहेका छन्, देशका विभिन्न सहरमा नयाँ गीत ‘रेलमै सरर’मार्फत् । नयाँ पत्रिकाले छापेको छ ।
केचाहिँ सत्य हो भने नेपालमा रेलका कुरा जहिले पनि ‘हिट’ हुन्छन्, अहिले सन्तोषको गीतले पाएको चर्चाजस्तै ।
तर, वास्तवमा नेपालमा रेल कहिलेदेखि गुड्ला त ? यो प्रश्नको जवाफ अहिले कल्पना मात्र गर्न पनि गाह्रो हुन सक्छ ।
उता, सन्तोषले नै ट्विट गरेका छन्, ‘रेलको भिडियो ल्याउन पनि रेल ल्याउन जत्तिकै गाह्रो भो ।’